2. सामुदायिक विद्यालयको पूर्वाधार सुधार कार्यक्रमः बाराका पाँच विद्यालय छनोट
बारा । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गर्ने सरकारी योजनाको पहिलो चरणमा बाराका पाँच विद्यालय छनोटमा परेका छन्। दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयलाई लक्षित गरी अघि बढाइएको कार्यक्रममा बाराका पाँचसहित मधेश प्रदेशका ३३ विद्यालय समेटिएका हुन्।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार देशभरका १०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। पहिलो चरणमा छनोट भएका ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको मन्त्रालयले जनाएको छ।
योजनाअन्तर्गत प्रत्येक विद्यालयमा करिब ६ करोड रुपैयाँ लागतमा १२ कोठाको तीनतले आधुनिक भवन निर्माण गरिनेछ। भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गर्ने लक्ष्य राखिएको छ।
बाराका यी पाँच विद्यालय छनोट
पूर्वाधार विकास कार्यक्रमका लागि बाराबाट छनोट भएका विद्यालयमा जितपुरसिमरा उपमहानगरपालिकास्थित नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय, कलैया उपमहानगरपालिकाको दुर्गा माध्यमिक विद्यालय, निजगढ नगरपालिकाको गौरीशंकर माध्यमिक विद्यालय, महागढीमाई नगरपालिकाको गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय र कलैया उपमहानगरपालिकाकै श्री ३ चन्द्र माध्यमिक विद्यालय रहेका छन्।
मन्त्रालयले मधेश प्रदेशमा सामुदायिक विद्यालयको गुणस्तर सुधार तथा शैक्षिक सूचकांक उकास्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेशलाई प्राथमिकता दिएको जनाएको छ। पहिलो चरणमा छनोट भएका विद्यालयमध्ये मधेशका ३३, लुम्बिनीका २१ र कोशीका १८ विद्यालय रहेका छन्। त्यस्तै, गण्डकी र सुदूरपश्चिमका ६–६, कर्णालीका तीन तथा बागमतीका दुई विद्यालय छनोट भएका छन्।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले छनोट भएका विद्यालयमा आधुनिक भवन निर्माणको काम अघि बढाइएको बताएका छन्। नयाँ पूर्वाधारले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै प्रयोगशाला तथा पुस्तकालयको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
पर्याप्त कक्षाकोठा र शैक्षिक सुविधाको अभाव झेलिरहेका सामुदायिक विद्यालयमा यो कार्यक्रमले पठनपाठनको वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। निर्माणको गुणस्तर, समयमै काम सम्पन्न गर्ने र बजेटको प्रभावकारी उपयोगले भने योजनाको उपलब्धि निर्धारण गर्नेछ।










