ओएण्डएम सर्वेक्षणको असर : मधेसमा अधिकृत तहको विज्ञापन रोकियो
जनकपुरधाम । मधेस प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवातर्फका अधिकृत सातौँ र आठौँ तहका पदमा विज्ञापन प्रकाशन गर्ने प्रक्रिया रोकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त पदपूर्तिका लागि माग नपठाएपछि आयोगले निर्धारित समयमा विज्ञापन खुलाउन नसकेको हो ।
आयोगको वार्षिक कार्यतालिकाअनुसार असोज महिनाको अन्तिम बिहीबार अर्थात् असोज २९ गते अप्राविधिक तथा प्राविधिकतर्फका अधिकृत पदको विज्ञापन खुल्नुपर्ने थियो । प्रदेश निजामती सेवा ऐन, २०७७ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त पदको विवरण निर्धारित समयमै आयोगमा पठाउनुपर्ने व्यवस्था छ ।
तर, कार्यालयले सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणको कारण देखाउँदै तत्काल कर्मचारी माग गर्न नसकिने जानकारी आयोगलाई गराएको थियो ।
मुख्यमन्त्री कार्यालयले असोज २३ गते आयोगलाई पठाएको पत्रमा प्रमुख सचिवको संयोजकत्वमा साउन ११ गते बसेको सचिव बैठकको निर्णय उल्लेख गरिएको छ । बजेट वक्तव्यको बुँदा नम्बर १०९ लाई आधार मान्दै कर्मचारी दरबन्दी कम्तीमा १५ प्रतिशत कटौती गर्नुपर्ने भएकाले ओएण्डएम सर्वेक्षण सम्पन्न नभएसम्म नयाँ पदपूर्ति र बढुवा रोक्का गरिएको पत्रमा जनाइएको छ ।
मधेस प्रदेश सरकारअन्तर्गतका निकायहरूको ओएण्डएम कार्य सम्पन्न भइनसकेकाले तत्काल कर्मचारीको माग पठाउन नसकिएको मुख्यमन्त्री कार्यालयले स्पष्ट पारेको छ ।
कार्यालयबाट यस्तो जानकारी प्राप्त भएपछि आयोगले असोज २८ गते विज्ञापन प्रकाशन नगर्ने निर्णय गरेको हो । आयोगले बिहीबार सूचना जारी गर्दै कार्यतालिकामा निर्धारित अधिकृत तहको विज्ञापन हाललाई प्रकाशन गर्न नसकिने जनाएको छ ।
प्रदेश लोक सेवा आयोगको विज्ञापन रोकिएपछि प्रदेश निजामती सेवामा प्रवेश गर्ने तयारीमा रहेका परीक्षार्थी प्रभावित भएका छन् । ओएण्डएम सर्वेक्षण सम्पन्न भएर रिक्त पदको माग प्राप्त भएपछि विज्ञापन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।










