लगातार छैटौँ दिन बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा
नेपाली सेयर बजारमा लगातार छैटौँ कारोबार दिन पनि वृद्धि भएको छ । अघिल्लो दिन २१.३२ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार थप ४.५६ अंकले बढेर २६२५ अंकमा कायम भएको छ ।
आज बैंकिङ समूहमा ०.१६ प्रतिशतको गिरावट आएको छ भने फाइनान्स समूह सबैभन्दा धेरै १.०३ प्रतिशतले बढेको छ । विकास बैंक ०.३५, होटल तथा पर्यटन ०.२७, जलविद्युत् ०.६०, लगानी ०.७८, जीवन बीमा ०.१६, लघुवित्त ०.३८ र निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले बढेका छन् ।
त्यस्तै, अन्य समूह ०.१९, व्यापार ०.५५ तथा उत्पादन तथा प्रशोधन समूह ०.०६ प्रतिशतले घटेका छन् ।
बजारमा सामान्य वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब १३ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ७० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्य घटेको छ । १५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ३१३ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६.३५, मञ्जुश्री फाइनान्सको ४.४४, रिडी पावरको ३.७५, विन्ध्यबासिनी हाइड्रोपावरको ३.५८ र ग्रिन भेन्चर्सको सेयर मूल्य ३.४५ प्रतिशतले बढेको छ ।
यसैगरी, माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य २.८३ प्रतिशत र कालंगा हाइड्रोपावरको २.७३ प्रतिशतले घटेको छ ।
आज कारोबार रकमका आधारमा कुमारी बैंक, अपी पावर, घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, ग्रिन भेन्चर्स, ग्लोबल आईएमई बैंक, माउन्टेन इनर्जी नेपाल, मध्यभोटेकोशी जलविद्युत् कम्पनी र सानिमा बैंक अगाडि रहेका छन् ।










