धनुषामा लोड गरिएको ट्याक्टर र एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियास्थित भित्री सडकमा काठ लोड गरिएको ट्याक्टर र एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करिब साढे ३ बजे पौडेश्वरबाट जनकपुरधामतर्फ आउँदै गरेको ‘अन टेस्ट’ लेखिएको ट्याक्टर सडकछेउमा काठसहित फेला परेको हो ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार काठ लोड गरिएको ट्याक्टर सडकछेउमा रहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । सो क्रममा ट्याक्टरसँगै मधेस प्रदेश ०२–००१ ब ७९४ नम्बरको मोटरसाइकलसमेत बेवारिसे अवस्थामा फेला परेको उनले बताए ।
प्रहरीले काठ लोड गरिएको ट्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिएको छ । दुवै सवारीसाधनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, धनुषामा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा लोड गरिएको काठको स्रोत र सवारीसाधन छाडेर जाने व्यक्तिबारे थप विवरण खुल्न बाँकी छ ।










