नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ नेताद्वय रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेताद्वय रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गर्न बाँकी रहे पनि मतपरिणाम सार्वजनिक भइसकेको छ।
नवनिर्वाचित सहमहामन्त्री खतिवडाका अनुसार उनी सर्वाधिक २ हजार ९१९ मत ल्याएर विजयी भएका हुन् भने अर्का नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले २ हजार ७२ मत प्राप्त गरेका छन् । सहमहामन्त्री खुलातर्फका दुई पदका लागि कुल नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।
प्रतिस्पर्धामा गण्डकी प्रदेशका सांसदसमेत रहेका डिल्लीराम सुवेदी १ हजार ८५१ मत ल्याएर तेस्रो स्थानमा रहे । यस्तै पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले १ हजार ३८२, राजीव ढुंगानाले १ हजार २४१ र विकास कोइरालाले १ हजार १४९ मत प्राप्त गरे । त्यसैगरी अमृतकुमार अर्यालले १ हजार ३९, रमेश धमलाले ८२१ र विमल क्षेत्रीले २८२ मत ल्याएका छन् ।
सहमहामन्त्री खुलातर्फ सर्वाधिक मतसहित विजयी भएका खतिवडा गत असोज २ गते देउवा समूह छाडेर संस्थापन पक्ष÷मूलधारमा फर्किएका थिए । देउवा समूह छाडेर मूलधारमा फर्किएका नेताहरूमध्ये पदाधिकारीमा निर्वाचित हुने उनी दोस्रो नेता बनेका छन् । यसअघि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्री (पिछडिएको क्षेत्र) तर्फ विजयी भएका छन् ।










