कोल्हबीमा असोज २६ गतेदेखि प्रथम नगर लिग फुटबल प्रतियोगिता हुँदै,९ क्लब सहभागी हुने
बिनिता चौधरी कोल्हबी, बारा। कोल्हबी नगरपालिकाभित्र रहेका फुटबल खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउने, खेल कौशल निखार्ने तथा प्रतिभावान खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रथम नगर लिग फुटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।
नगर खेलकुद विकास समिति कोल्हबीको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन असोज २६ गते दिउँसो २ बजे कोल्हबी नगरपालिका–१ स्थित मठवा फिल्डमा हुने आयोजकले जानकारी दिएको छ।
नगरपालिकाभित्रका खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीयस्तरमा लुकेर रहेका प्रतिभाहरूको पहिचान गरी उनीहरूलाई खेलकुद क्षेत्रमा अगाडि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद विकास समितिका संयोजक शिव चौधरीले बताउनुभयो।
प्रतियोगितामा कोल्हबी नगरपालिकाभरिका ९ वटा क्लबको सहभागिता रहनेछ। प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नगरभित्र फुटबल खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, दोस्रो हुने टोलीले नगद २० हजार रुपैयाँ र तेस्रो हुने टोलीले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्न कुल ९ लाख ८३ हजार ९ सय ५० रुपैयाँ अनुमानित बजेट रहेको जानकारी पनि पत्रकार सम्मेलनमार्फत गराइएको थियो।
नगर खेलकुद विकास समिति कोल्हबीका संयोजक शिव चौधरीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा अग्रज व्यक्तित्व नन्दलाल चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा समाजसेवी भुवन प्रसाद चौधरी, जोगिन्द्र चौधरी, नेपाल विद्यार्थी संघ बाराका सभापति समीर चौधरीलगायतको उपस्थिति रहेको थियो।
स्थानीयस्तरमा खेलकुद गतिविधि प्रवर्द्धन गर्ने, युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने तथा खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने लक्ष्यसहित आयोजना हुन लागेको प्रतियोगिताले कोल्हबीको खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्ने विश्वास आयोजकले लिएको छ।
असोज २६ गते दिउँसो २ बजे मठवा फिल्डमा हुने उद्घाटन समारोहमा खेलप्रेमी, स्थानीयवासी तथा सरोकारवाला सबैलाई उपस्थित भई प्रतियोगिताको शोभा बढाउन आयोजकले आग्रह गरेको छ।










