रौतहटका तीन जना हेटौँडामा पक्राउ, ५२ थान नागरिकताका प्रतिलिपि र ४३ सिमकार्ड बरामद

कोल्हवी न्यूज
२०८३ आश्विन २३, शुक्रबार २०:१८ गते

मकवानपुर । ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आशङ्कामा मकवानपुर प्रहरीले हेटौँडाबाट तीन जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा रहेका नागरिकता प्रमाणपत्रका ५२ थान प्रतिलिपि, ४३ थान सिमकार्ड र चार थान चेकबुक बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार हेटौँडा उपमहानगरपालिका–५, सानोपोखरास्थित एक घरमा डेरा गरी बस्ने व्यक्तिहरूले आपराधिक गतिविधि गरिरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोलीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा रौतहटको कटहरिया नगरपालिका–८ का १९ वर्षीय अजय कुमार यादव र पवन कुमार दास तथा बौधिमाई नगरपालिका–६ का २१ वर्षीय रोशन राय यादव पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा जारी नागरिकता प्रमाणपत्रका ५२ थान प्रतिलिपि, प्रयोग भइसकेका एनसेलका २२ थान सिमकार्ड, सिलप्याक अवस्थामा रहेका २१ थान सिमकार्ड र अन्य व्यक्तिका नाममा रहेका चार थान चेकबुक बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद सामग्रीको प्रयोजन तथा सिमकार्ड प्राप्तिको स्रोतबारे उनीहरूले स्पष्ट खुलाउन नसकेको प्रहरीले जनाएको छ।

बरामद सामग्रीसहित तीनै जनालाई नियन्त्रणमा लिएर ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*