प्रसौनी–२ मा घटस्थापनादेखि सप्तमीसम्म मासु तथा माछा पसल बन्द गर्न आग्रह

कोल्हवी न्यूज
२०८३ आश्विन २२, बिहीबार १७:०५ गते

बारा । बडादशैंलाई लक्षित गर्दै बाराको प्रसौनी गाउँपालिका–२ वडा कार्यालयले प्रसौनी चौक तथा बजार क्षेत्रमा सञ्चालित मासु तथा माछा पसलहरू बन्द गर्न आग्रह गरेको छ ।

वडा कार्यालयले असोज २२ गते जारी गरेको सूचनामार्फत घटस्थापनादेखि सप्तमीसम्म प्रसौनी चौक र बजार क्षेत्रमा रहेका सम्पूर्ण मासु तथा माछा पसल बन्द गर्न व्यवसायीलाई अनुरोध गरेको हो ।

वडामा दुर्गा पूजा सञ्चालन भइरहेको तथा दशैं पर्वलाई मध्यनजर गर्दै धार्मिक तथा सामाजिक वातावरणलाई व्यवस्थित बनाउन उक्त अवधिमा पसल बन्द गर्न आग्रह गरिएको सूचनामा उल्लेख छ ।

वडा कार्यालयले जारी गरेको सूचनामा तोकिएको अवधिमा पसल बन्द नगरे कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

सूचनाको कार्यान्वयन तथा सुरक्षा व्यवस्थाका लागि प्रसौनी गाउँपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय प्रसौनी, नौतनलाई समेत बोधार्थ पठाइएको छ ।

वडा अध्यक्ष हृदय कुमार साह तेलीले जारी गरेको सूचनामार्फत दशैं पर्वलाई व्यवस्थित, शान्तिपूर्ण तथा मर्यादित बनाउन स्थानीय व्यवसायीलाई सहयोग गर्न आग्रह गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*