घरेलु विवादमा श्रीमतीमाथि कुटपिट, निजगढमा ४७ वर्षीया महिलाको मृत्यु

कोल्हवी न्यूज
२०८३ आश्विन २२, बिहीबार १३:३६ गते

बारा । बाराको निजगढ नगरपालिका–१२ रामथलीमा घरेलु विवादका क्रममा श्रीमतीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ । कुटपिटबाट घाइते भएकी उनकी श्रीमतीको उपचारपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामथलीका ५५ वर्षीय विजय मोक्तानले ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई घरायसी विवादका क्रममा लहराको टुक्राले कुटपिट गरेका थिए । घटनामा सुकुमाया सामान्य घाइते भएकी थिइन् ।

कुटपिटपछि स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाएर उनको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गरिएको थियो । उपचारपछि सुकुमाया सोही दिन राति करिब ८ बजे खाना खाएर सुतेकी थिइन् ।

तर, असोज २२ गते बिहान करिब ४ बजे विजयले उठाउन खोज्दा उनी नउठेपछि मृत्यु भइसकेको थाहा भएको प्रहरीले जनाएको छ । घटनाबारे बिहान ६ः४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा जानकारी पुगेको थियो ।

सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षकको कमाण्डमा रतनपुरबाट तथा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, बारा पठाएको जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिट र मृत्युबीचको सम्बन्ध तथा घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*