मधेसमा विद्युत् चुहावट घट्यो, मौलापुरमा सबैभन्दा बढी

कोल्हवी न्यूज
२०८३ आश्विन २२, बिहीबार ११:२५ गते

मधेस प्रदेशमा विद्युत् चुहावट नियन्त्रणमा सुधार देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा प्रदेशको विद्युत् चुहावट गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६१ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको साउन र भदौमा मधेस प्रदेशमा २२.५६ प्रतिशत विद्युत् चुहावट भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने यो दर घटेर २०.९५ प्रतिशतमा पुगेको प्राधिकरणको मधेस प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ ।

चालु आवको साउनमा २०.०९ प्रतिशत र भदौमा २१.७६ प्रतिशत विद्युत् चुहावट भएको थियो । गत आवको साउनमा २५.६७ प्रतिशत तथा भदौमा २३.५२ प्रतिशत चुहावट रहेको थियो ।

प्राधिकरणका अनुसार बाराको सिमरा वितरण केन्द्रमा सबैभन्दा कम २.९४ प्रतिशत चुहावट देखिएको छ । रौतहटको मौलापुर वितरण केन्द्रमा भने सबैभन्दा बढी ४७.७७ प्रतिशत चुहावट भएको छ ।

मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर शम्भु कुसियैतका अनुसार रौतहटको मौलापुर र गौर तथा सर्लाहीको मलङ्गवा क्षेत्रमा विद्युत् चुहावटको समस्या तुलनात्मक रूपमा बढी छ । सिमरा क्षेत्रमा औद्योगिक ग्राहकको सङ्ख्या बढी रहेकाले त्यहाँ चुहावट कम देखिएको उहाँले बताउनुभयो ।

चुहावट घटाउन हुकिङ नियन्त्रण, ग्राहकको बिलिङ तथा मिटर रिडिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तनलगायतका कामलाई प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा महसुल नतिर्ने आठ हजार ७८२ ग्राहकको विद्युत् लाइन काटिएको छ । तीमध्ये आठ हजार २३४ ग्राहकले बक्यौता तिरेर पुनः विद्युत् जडान गराएका छन् । उनीहरूबाट रु २० करोड नौ लाख ७७ हजार बक्यौता असुल भएको प्राधिकरणले जनाएको छ ।

गत आर्थिक वर्षमा मात्रै ४२ हजार ६६४ ग्राहकको लाइन काटेर रु एक अर्ब ४७ लाख बक्यौता असुल गरिएको थियो ।

प्राधिकरणका अनुसार मधेस प्रदेशमा ५९ प्रतिशत औद्योगिक र ३१ प्रतिशत घरेलु ग्राहक छन् । प्रदेशका ९९.९९ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ भने बाँकी क्षेत्रमा पनि जडान विस्तार भइरहेको छ । प्रदेशका जिल्लामा हालसम्म करिब १० प्रतिशत सिँचाइको विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*