कोल्हवी कांग्रेसमा दुई धारको अधिवेशन,संगठन एकताबद्ध बनाउन नेताहरूको आग्रह

कोल्हवी न्यूज
२०८३ आश्विन २२, बिहीबार ०७:४३ गते

कोल्हवी, बारा । नेपाली कांग्रेसको आन्तरिक राजनीतिक विभाजनको प्रभाव कोल्हवी नगरस्तरमा पनि देखिएको छ। कांग्रेसको देउवा समूहले बुधबार कोल्हवीस्थित बीपी स्मृति भवनमा नगर अधिवेशन आयोजना गर्दै पार्टीभित्रका मतभेदलाई व्यवस्थापन गरी संगठनलाई बलियो र एकताबद्ध बनाउनुपर्नेमा जोड दिएको छ।

 

 

तत्कालीन नगर सभापति वीरेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न तेस्रो नगर अधिवेशनको उद्घाटन कोल्हवी नगरपालिकाका नगर प्रमुख तथा कांग्रेसका पूर्वजिल्ला सचिव रामप्रसाद चौधरीले गरेका थिए। उनले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण तथा गमलामा पानी हालेर अधिवेशनको उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले पार्टीभित्र फरक विचार र समूह भए पनि त्यसको असर संगठनको नियमित गतिविधिमा पर्न नहुनुपर्ने बताए। उनले कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको गतिविधिप्रति असन्तुष्टि जनाउँदै विधि र प्रक्रियाअनुसार संगठन सञ्चालन हुनुपर्ने धारणा राखे।

 

 

कोल्हवीमा समेत नगर सभापतिलाई जानकारी नदिई उपसभापतिबाट अधिवेशनको मिति तोकिएको भन्दै चौधरीले क्रियाशील सदस्य तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। आफ्नो कार्यकालमा कृषि, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि काम अघि बढाइएको दाबी गर्दै उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए।

 

 

नगर सभापति वीरेन्द्रप्रसाद चौधरीले आन्तरिक मतभेदलाई संगठनविरोधी गतिविधिमा परिणत गर्न नहुने बताए। उनले कांग्रेसलाई व्यवस्थित, जनमुखी र प्रभावकारी बनाउन सहकार्य, अनुशासन र एकता आवश्यक रहेको उल्लेख गरे। युवापुस्तामा देखिएको असन्तुष्टि तथा परिवर्तनको चाहनालाई राजनीतिक दलहरूले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

 

 

अधिवेशनमा कांग्रेस जिल्ला कोषाध्यक्ष बासुप्रसाद चौधरी, मधेस प्रदेश प्रतिनिधि सञ्जयकुमार चौधरी, प्रदेश महाधिवेशन प्रतिनिधि सुरेशबाबु चौधरी, तरुण दलका केन्द्रीय सभापति ओमप्रकाश चौधरी, कोल्हवी नगरपालिकाका उपप्रमुख लक्ष्मीकुमारी चौधरीलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो।

 

 

यसैबीच, कांग्रेसको विशेष महाधिवेशन पक्षधर गगनकुमार थापा समूहले भने यसअघि नै कोल्हवी नगर अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ। उक्त समूहको नगर सभापतिमा बसन्त चौधरी चयन भएका छन्।

 

 

थापा पक्षले कोल्हवीमा वडा, नगर तथा क्षेत्रीय तहका अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ। सो समूहको केन्द्रीय महाधिवेशनसमेत काठमाडौंमा जारी रहेको छ।

 

 

यसरी कोल्हवी कांग्रेसमा एउटै पार्टीभित्र दुई समूहले छुट्टाछुट्टै अधिवेशन तथा संगठनात्मक गतिविधि अघि बढाएपछि स्थानीय तहमा कांग्रेसको आन्तरिक विभाजन थप प्रस्ट देखिएको छ। दुवै पक्षका नेताहरूले संगठन बलियो बनाउने र कार्यकर्तालाई सक्रिय बनाउने दाबी गरे पनि पार्टीको आन्तरिक विवाद कसरी व्यवस्थापन हुन्छ भन्ने विषय भने आगामी दिनमा महत्वपूर्ण रहने देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*