नेपाली कांग्रेसको १५औँ महाधिवेशन:मधेस प्रदेशबाट आदिवासी जनजातीतर्फ रबिन्द्र प्रसाद पनुहरको केन्द्रीय सदस्यमा उम्मेदवारी
बारा,नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीको विभिन्न तह र पदका लागि आकाङ्क्षी नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्। यसै क्रममा मधेस प्रदेश अन्तर्गत आदिवासी जनजाती कोटाबाट केन्द्रीय सदस्य पदका लागि युवा तथा प्रभावशाली नेता रबिन्द्र प्रसाद पनुहरले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
पार्टीका सिद्धान्त ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ लाई आत्मसात् गर्दै पनुहरले केन्द्रीय समितिमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो। मधेस प्रदेशमा कांग्रेसको सङ्गठन सुदृढीकरण, समावेशी प्रतिनिधित्व र आदिवासी जनजाती समुदायको हक-अधिकारका लागि निरन्तर क्रियाशील रहँदै आउनुभएका पनुहरको उम्मेदवारीलाई पार्टीभित्र निकै चासोका साथ हेरिएको छ।
पनुहरले आफ्नो उम्मेदवारी ‘समावेशी नेतृत्व, सबल कांग्रेस, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ अघि सार्नुभएको छ। उहाँले पार्टीभित्र सबै वर्ग, समुदाय र क्षेत्रको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्न तथा नेपाली कांग्रेसलाई अझ सबल, सुदृढ र जनमुखी बनाउन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभएको छ।
महाधिवेशन प्रतिनिधिहरू तथा पार्टीका शुभेच्छुकहरूसँग मत माग्दै पनुहरले आफूलाई अमूल्य भोट दिएर विजयी गराउन हार्दिक अनुरोध गर्नुभएको छ। मधेस प्रदेशबाट आदिवासी जनजातीको आवाज केन्द्रीय तहसम्म पुर्याउन र पार्टीको नीति निर्माणमा रचनात्मक भूमिका निर्वाह गर्न उहाँको उम्मेदवारी महत्त्वपूर्ण हुने महाधिवेशन प्रतिनिधिहरूको भनाइ छ।
नेपाली कांग्रेसको आगामी नेतृत्व चयनका लागि हुन गइरहेको यस महाधिवेशनमा पनुहरको उम्मेदवारीले मधेस र आदिवासी जनजाती क्षेत्रका कार्यकर्ताहरूमा नयाँ उत्साह थपेको छ। पार्टीलाई थप गतिशील र समावेशी बनाउन युवा तथा निष्ठावान् नेताहरू केन्द्रीय तहमा पुग्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरूले जोड दिँदै आएका छन्।










