स्थानीय तहमा महिलाको नेतृत्व बढाउने गगन थापाको घोषणा

कोल्हवी न्यूज
२०८३ आश्विन २०, मंगलवार ०७:२० गते

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा महिलाको नेतृत्व सुनिश्चित गर्ने योजना अघि सारेका छन्।

काठमाडौँको खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन तथा आगामी चार वर्षको कार्यनीति प्रस्तुत गर्दै थापाले ७ सय ५३ स्थानीय तहमध्ये कम्तीमा १ सय पालिकाको प्रमुख वा अध्यक्ष पदमा महिलालाई उम्मेदवार बनाउने संकल्प गरेका हुन्।

थापाका अनुसार महिला उम्मेदवारको संख्या बढाउने र उम्मेदवार छनोटलाई व्यवस्थित बनाउन कांग्रेस केन्द्रीय कार्यालयमा ‘इलेक्सन ब्युरो’ गठन गरिनेछ। उक्त संरचनाले निर्वाचनसम्बन्धी तयारी तथा उम्मेदवार छनोटमा काम गर्नेछ।

सभापति थापाले महाधिवेशनलगत्तै ‘लिडरसिप एकेडेमी’ सञ्चालन गर्ने योजना पनि अघि सारेका छन्। आगामी निर्वाचनमा सो एकेडेमीको पाठ्यक्रम पूरा गरेका व्यक्तिलाई मात्र उम्मेदवार बन्ने व्यवस्था गर्ने उनको प्रस्ताव छ।

कांग्रेसको पार्टी कार्यालयलाई केवल टिकट वितरण गर्ने केन्द्रका रूपमा नभई ज्ञान निर्माण र नागरिकका विषयमा छलफल गर्ने थलोका रूपमा विकास गरिने थापाले बताएका छन्।

उनले पार्टीको संगठनात्मक संरचनामा समेत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै आगामी चार वर्षका लागि नयाँ कार्यनीति र पार्टी संरचनासहितको राजनीतिक प्रतिवेदन महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*