इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार, ठेकेदार सम्पर्कविहीन
रौतहट । रौतहट प्रहरीले इँटाभट्टामा काम गर्न आएका ४२ जना भारतीय नागरिकलाई अलपत्र अवस्थामा उद्धार गरी स्वदेश फर्काएको छ।
गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र ९ बालिकालाई प्रहरीले उद्धार गरी सोमबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)को जिम्मा लगाएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार भारतीय ठेकेदारमार्फत उत्तर प्रदेशको मुरादाबादबाट उनीहरूलाई इँटाभट्टामा काम गर्न ल्याइएको थियो।
इँटाभट्टा सञ्चालक मोहम्मद मुजामिलले रासन तथा खर्च व्यवस्थापनका लागि चार दिनअघि भारतीय ठेकेदार मोहम्मद नासिरलाई भारु ६ लाख दिएको बताए। रकम लिएपछि नासिर सम्पर्कविहीन भएपछि कामदारहरू अलपत्र परेका थिए।
आगामी असारसम्म इँटाभट्टामा काम गर्नेगरी आश्रित परिवारसहित ल्याइएका कामदार ठेकेदार सम्पर्कविहीन भएपछि सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए।
डीएसपी गौतमले कामदार ल्याएर अलपत्र पार्ने भारतीय ठेकेदारको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए।









