जितिया पर्वको निराहार व्रत आज समापन

कोल्हवी न्यूज
२०८३ आश्विन १८, आईतवार १३:५६ गते

बारा। सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै महिलाले मनाउने जितिया पर्वको निराहार व्रत आज विधिपूर्वक समापन भएको छ।

तीन दिनसम्म विभिन्न धार्मिक विधि पूरा गरी मनाइने जितिया पर्वमा महिलाले शुक्रबार राति ‘ओगटन’ अर्थात् दर खाएर व्रत सुरु गरेका थिए। शनिबार पानीसमेत नखाई निराहार बसेका महिलाले आज बिहान स्नान तथा पूजाअर्चना गरेपछि व्रत समापन गरेका हुन्।

व्रतका क्रममा महिलाले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथा श्रवण तथा पूजाअर्चना गर्दै सन्तानको दीर्घायु र सुख–समृद्धिको कामना गरेका थिए। पर्वको अन्तिम दिन विधिअनुसार फलाहार वा अन्न ग्रहण गरेर व्रत तोड्ने परम्परा रहेको छ।

विशेषगरी मिथिला तथा तराई–मधेसका जिल्लामा लोकप्रिय जितिया पर्व पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहरमा रहेका मैथिल समुदायले पनि मनाउँदै आएका छन्।

जितिया महिलाले मनाउने कठोर व्रतमध्ये एक मानिन्छ। सन्तानप्रतिको मातृभाव, प्रेम र समर्पणका रूपमा एक दिन–एक रातसम्म निराहार उपवास बस्ने परम्परा रहेको छ। यसरी व्रत बसेमा सन्तानको दीर्घायु र सुस्वास्थ्य हुने धार्मिक विश्वास छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*