रास्वपा बारामा जिल्ला अधिवेशन तत्काल गर्न स्थानीय समितिको माग

कोल्हवी न्यूज
२०८३ आश्विन १८, आईतवार १५:४१ गते

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका पालिका तथा क्षेत्रीय समितिका प्रतिनिधिहरूले जिल्ला अधिवेशन तत्काल गर्न पार्टीको केन्द्रीय नेतृत्वसमक्ष माग गरेका छन्।

बाराका स्थानीय तथा क्षेत्रीय प्रतिनिधिहरूले पार्टीका महामन्त्री विपिन आचार्य र संसदीय दलका उपनेता गणेश पराजुलीलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै जिल्ला अधिवेशन छिटो सम्पन्न गर्न माग गरेका हुन्।

ज्ञापनपत्रमार्फत उनीहरूले पार्टीको विधानअनुसार तल्लो तहका कार्यकर्ताको भावना र जनादेशलाई सम्मान गर्दै निर्वाचन प्रक्रियाबाट जिल्ला नेतृत्व चयन गर्नुपर्ने बताएका छन्। अधिवेशनमार्फत नेतृत्व चयन हुँदा संगठन थप व्यवस्थित र आन्तरिक लोकतन्त्र बलियो हुने उनीहरूको भनाइ छ।

प्रतिनिधिहरूले खुला, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार जिल्ला अधिवेशनमा भइरहेको ढिलाइले स्थानीय तहमा संगठन विस्तार, परिचालन तथा आगामी गतिविधिमा समेत अन्योल सिर्जना भइरहेको छ।

त्यसैले केन्द्रीय नेतृत्वले बाराको जिल्ला अधिवेशनलाई प्राथमिकतामा राख्दै यथाशीघ्र मिति घोषणा गर्नुपर्ने माग उनीहरूले गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*