नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि
काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा देशभरका जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिबाट सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्।
महाधिवेशनमा प्रतिनिधि, शुभेच्छुक तथा सर्वसाधारणको बाक्लो उपस्थिति हुने र सवारीसाधनको चापसमेत बढ्न सक्ने भएकाले आयोजकले ट्राफिक प्रहरीसँगको समन्वयमा विशेष पार्किङ व्यवस्था मिलाएको छ।
महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान-वे सडकको एकतर्फी भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरलाई मुख्य पार्किङ स्थल तोकिएको छ।
यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र समेत सवारीसाधन पार्किङको व्यवस्था मिलाउने विषयमा ट्राफिक प्रहरीसँग समन्वय भइरहेको छ।
महाधिवेशनका क्रममा राजधानीमा हुने सम्भावित सवारी चापलाई व्यवस्थापन गर्दै यातायात आवागमनलाई सहज बनाउने उद्देश्यले पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।









