धनुषामा २० वर्षीया विवाहित महिला मृत फेला, श्रीमान् प्रहरी नियन्त्रणमा
जनकपुर । धनुषामा एक विवाहित महिला घरमै शंकास्पद अवस्थामा मृत फेला परेकी छन्।
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा स्थानीय विनोद दासकी २० वर्षीया पत्नी प्रियंका दास मृत फेला परेकी हुन्। उनको शव घरको सुत्ने कोठामा रहेको ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मृतकका आफन्तका अनुसार आइतबार साँझ प्रियंका आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाएको अवस्थामा फेला परेकी थिइन्। त्यसपछि उनका श्रीमान् विनोदले पासो खोलेर शवलाई ओछ्यानमा राखेको आफन्तको भनाइ छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कपिलेश्वरको टोली घटनास्थल पुगेको थियो। घटनापछि स्थानीयवासीले मृतकको हत्या भएको आशंका गर्दै अबेर रातिसम्म घरअगाडि विरोध प्रदर्शन गरेका थिए। उनीहरूले घटनास्थलमा पत्रकारलाई समेत प्रवेश गर्न दिनुपर्ने माग गर्दै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी घटनास्थलमा पुगेर शवको मुचुल्का उठाउनेलगायत प्रारम्भिक अनुसन्धानमा जुटेको छ। घटनाबारे प्रारम्भिक सोधपुछका लागि मृतकका श्रीमान् विनोदलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।









