राष्ट्र बैंकले यसपटक दसैँका लागि नयाँ नोट सटहीमा छुट्टै मिति नतोक्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको बडादसैँलाई लक्षित गरी नयाँ तथा खुद्रा नोट सटहीका लागि छुट्टै मिति नतोक्ने भएको छ। विगतमा दसैँअघि निश्चित मिति तोकेर नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यसपटक नियमित प्रक्रियामार्फत नै नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको हो।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणले नयाँ नोट साट्न विशेष दिन कुर्नुपर्ने छैन। नियमित कार्यालय समयमै राष्ट्र बैंकका काउन्टरबाट नयाँ तथा खुद्रा नोट साट्न सकिने व्यवस्था गरिनेछ।
दसैँमा बढ्ने नोटको मागलाई ध्यानमा राख्दै आवश्यकताअनुसार नियमित रूपमा नोट उपलब्ध गराउने तयारी राष्ट्र बैंकले गरेको छ। केन्द्रीय बैंकसँग पर्याप्त नयाँ नोट मौज्दात रहेकाले मागअनुसार वितरण गरिने र नयाँ नोटले मात्र माग धान्न नसके सुकिला नोटसमेत सटहीका लागि उपलब्ध गराइनेछ।
राष्ट्र बैंकका काउन्टरसँगै बैंक तथा वित्तीय संस्थामार्फत पनि सर्वसाधारणले नयाँ तथा खुद्रा नोट प्राप्त गर्न सक्नेछन्। वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाले राष्ट्र बैंकबाट नोट लिएर आफ्ना ग्राहकलाई सटही सुविधा उपलब्ध गराउनेछन्।
हाल राष्ट्र बैंकमा एक व्यक्तिले दुई बन्डलसम्म नयाँ नोट साट्न पाउने व्यवस्था छ। एउटा बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक–एक सय थान नोट रहनेछन्।
राष्ट्र बैंकका अनुसार व्यक्तिगत प्रयोजनका लागि मागअनुसार सबैलाई नयाँ नोट मात्र उपलब्ध गराउन सम्भव नहुन सक्छ। व्यापारिक प्रयोजनका लागि भने माग र उपलब्धताका आधारमा नयाँ तथा सुकिला नोट सटहीको सुविधा प्रदान गरिनेछ।
विगतमा दसैँअघि नयाँ नोट साट्न राष्ट्र बैंक तथा बैंकका काउन्टरमा ठूलो भीड लाग्ने गरेको थियो। यसपटक छुट्टै मिति नतोकी नियमित कार्यालय समयमै सटही सुविधा उपलब्ध गराउँदा सेवाग्राहीको भीड र लामो प्रतीक्षा घट्ने अपेक्षा गरिएको छ।










