नेपाली कम्युनिष्ट पार्टी बाराको एकता बैठक, प्रशिक्षण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न
बारा-नेपाली कम्युनिष्ट पार्टी बारा जिल्ला एकता बैठक, प्रशिक्षण तथा शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला संयोजक क. गिता कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा केन्द्रीय संयोजक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी पूर्वप्रधानमन्त्री तथा केन्द्रीय सहसंयोजक क. माधवकुमार नेपाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा मधेश प्रदेश इन्चार्ज क. महेन्द्रराय यादव, केन्द्रीय संयोजन समिति सदस्य क. मातृका प्रसाद यादव, मधेश प्रदेशका सहइन्चार्जहरू क. रामकुमार भट्टराई र क. श्रीप्रसाद साह, मधेश प्रदेश संयोजक क. राजु खड्का, सहसंयोजक क. क्षेत्रबहादुर श्रेष्ठ, बारा जिल्ला इन्चार्ज क. रमेशप्रसाद यादवलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
त्यस्तै, सहइन्चार्ज, सहसंयोजक, केन्द्रीय तथा प्रदेश कमिटीका सदस्यहरू, विभिन्न घटकबाट एकता प्रक्रियामा मनोनीत जिल्ला कमिटी सदस्यहरू, वाईसीएल, जनवर्गीय संगठन तथा मोर्चाका प्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको जनाइएको छ।
कार्यक्रममा सहभागी नेताहरूले पार्टी एकतालाई थप मजबुत बनाउँदै संगठन निर्माण र विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए। प्रमुख अतिथि, विशिष्ट अतिथिलगायत वक्ताहरूबाट प्रस्तुत प्रशिक्षणात्मक विचारले संगठन निर्माणका लागि कार्यकर्तामा नयाँ उत्साह र आशा पैदा गरेको जिल्ला नेतृत्वले जनाएको छ।
कार्यक्रममा जिल्ला कमिटीमा केही सदस्यहरू मनोनीतसमेत गरिएको बताइएको छ। नवमनोनीत सदस्यहरूले संगठन निर्माणमा रचनात्मक, सकारात्मक र निष्ठापूर्वक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेता–कार्यकर्ता तथा सहयोगीहरूप्रति जिल्ला नेतृत्वले आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य, आपसी समझदारी र स्वीकार्यतालाई आत्मसात गर्दै संगठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।










