बारागढीमा कांग्रेसको संगठन निर्माण तथा अधिवेशन तयारी अघि बढाउन निर्देशन
बारागढी,बारा । नेपाली कांग्रेस बारागढी गाउँपालिकामा पार्टीको नियमित १५औँ महाधिवेशनलाई लक्षित गर्दै वडा तथा गाउँ कार्यसमिति गठन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
नेपाली कांग्रेसका सह-महामन्त्री उमाकान्त चौधरीले महाधिवेशनलाई लक्षित गर्दै गाउँपालिकाका वडा तथा गाउँस्तरमा संगठन निर्माणलाई तीव्रता दिँदै अधिवेशनसम्बन्धी आवश्यक तयारी अघि बढाउन निर्देशन दिएका हुन्।
बारागढी गाउँपालिकामा आयोजित कांग्रेसको भेलामा पार्टी संगठनको वर्तमान अवस्था, आगामी अधिवेशनको तयारी तथा वडा र गाउँस्तरमा संगठनलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको बताइएको छ।
भेलामा गाउँपालिका सभापति, सम्पूर्ण वडाका वडा सभापतिसहित नेपाली कांग्रेसका सक्रिय सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा धारणा राखेका थिए।
सह-महामन्त्री चौधरीले पार्टीको संगठन बलियो बनाउन वडा तहदेखि नै सक्रियता बढाउनुपर्नेमा जोड दिँदै महाधिवेशनका लागि आवश्यक संगठनात्मक प्रक्रिया समयमै पूरा गर्न निर्देशन दिएको जनाइएको छ।
भेलाले वडा तथा गाउँस्तरमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउँदै कार्यकर्ता तथा सक्रिय सदस्यहरूलाई संगठन निर्माणमा परिचालन गर्ने विषयमा समेत जोड दिएको बताइएको छ।
नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनलाई लक्षित गर्दै देशभर पार्टीका स्थानीय तहका संरचना तथा अधिवेशनसम्बन्धी तयारी अघि बढिरहेको अवस्थामा बारागढीमा पनि संगठन निर्माण र अधिवेशन तयारीलाई प्राथमिकताका साथ अघि बढाइएको हो।










