नेपाली कांग्रेस कोल्हवी नगर कार्यसमिति संस्थापन समुहको नगरस्तरीय भेला सम्पन्न
कोल्हवी, बारा । नेपाली कांग्रेस कोल्हवी नगर कार्यसमिति संस्थापनको नगरस्तरीय भेला हिजो सम्पन्न भएको छ। नेपाली कांग्रेसको देउवा समूहअन्तर्गत आयोजित भेलामा पार्टीको संगठन सुदृढीकरण, आगामी राजनीतिक गतिविधि तथा समसामयिक विषयमा छलफल गरिएको जनाइएको छ।
नगर सभापति वीरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा नेपाली कांग्रेसका पूर्वमन्त्री तथा सहमहामन्त्री उमाकान्त चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी र उपप्रमुख लक्ष्मी कुमारी चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
भेलामा नेपाली कांग्रेसका विभिन्न वडा सभापति, नगर तथा जिल्ला तहका नेता, कार्यकर्ता, विद्यार्थी संगठनका प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। वडा नं. १ का सभापति रामसेवक चौधरी, वडा नं. ४ का सभापति रामबाबु चौधरी, वडा नं. ६ का सभापति दिनेश चौधरी, वडा नं. ७ का सभापति बृज चौधरी, वडा नं. ९ का सभापति किशोरी चौधरी र वडा नं. १० का सभापति सुरेश चौधरी भेलामा सहभागी भएका थिए।
त्यसैगरी नेपाली कांग्रेस कोल्हवी नगर सचिव महेश कुमार साह, कांग्रेस नेता अजय साह, नेपाली कांग्रेस बारा जिल्ला कोषाध्यक्ष वासु चौधरी, नेपाल विद्यार्थी संघ बारा जिल्ला अध्यक्ष समिर चौधरी लगायतको उपस्थिति रहेको थियो।
भेलामा स्थानीय तहमा पार्टी संगठनलाई थप व्यवस्थित तथा मजबुत बनाउने, नेता–कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको सहभागीहरूले बताएका छन्।
पार्टीको संगठन विस्तारसँगै स्थानीय तहमा जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने तथा समसामयिक राजनीतिक विषयमा पार्टीको भूमिका सशक्त बनाउने विषयमा समेत भेलामा धारणा राखिएको जनाइएको छ।
भेलाले आगामी दिनमा संगठनलाई एकताबद्ध र सक्रिय बनाउँदै पार्टीका गतिविधिलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा अघि बढाउने सन्देश दिएको सहभागीहरूले बताएका छन्।










