पर्सामा चोरी गर्न घर पसेको समूहले वृद्धाको हत्या गरेको आशंका
पर्सा, ६ असोज । पर्साको धोबिनी गाउँपालिकामा चोरी गर्न घरभित्र प्रवेश गरेको आशंका गरिएको समूहले एक वृद्धाको हत्या गरेको आशंका गरिएको छ। चोरी गर्ने क्रममा प्रतिकार गरेपछि ६० वर्षीया महिलाको हत्या गरी गरगहना र नगदसमेत लिएर समूह फरार भएको प्रारम्भिक विवरण छ।
धोबिनी गाउँपालिका–५ की लखराजो देवी तुरहाको सोमबार बिहान घरमै मृत अवस्थामा शव भेटिएको हो। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ भने स्थानीयवासीमा त्रास फैलिएको छ।
स्थानीयका अनुसार लखराजो देवी श्रीमान्सँग घरको तल्लो तलामा सुत्ने गर्थिन्। सोमबार बिहान करिब ३ देखि ४ बजेको समयमा उनी माथिल्लो तलामा रहेका छोरा–बुहारीको कोठातर्फ गएकी थिइन्।
त्यसक्रममा माथिल्लो तलामा चोरी भइरहेको देखेपछि उनले चोरलाई रोक्न खोजेको स्थानीयको भनाइ छ। प्रतिकार गर्न खोज्दा पछाडिबाट फलामको रडले टाउकोमा प्रहार गरिएको र त्यसैका कारण उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि उनको शरीरमा लगाइएका गरगहनासहित घरमा राखिएको नगद तथा अन्य सुनचाँदीका सामानसमेत चोरी भएको बताइएको छ। चोरी भएको सम्पत्तिको यकिन विवरण भने प्रहरीको अनुसन्धानपछि खुल्नेछ।
बिहान अबेरसम्म श्रीमती पूजा गर्न तल नआएपछि उनका श्रीमान् खोज्दै माथिल्लो तलामा पुगेका थिए। त्यहाँ श्रीमतीलाई मृत अवस्थामा भेटेपछि उनले छिमेकीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीलाई घटनाबारे जानकारी गराइएको थियो।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राख्दै घर सिल गरेर प्रमाण संकलन तथा अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज ल्याएको छ।
तालिमप्राप्त कुकुर परिचालन
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको छ। प्रहरीले घटनास्थलबाट सम्भावित प्रमाण संकलन गर्नुका साथै चोरी भएको भनिएको सामानको विवरण र घटनामा संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान गरिरहेको छ।
मृतकका छोरा अभिलाष साह काठमाडौंमा माछाको व्यवसाय गर्दै आएका छन्। आमाको हत्या भएको खबर पाएपछि उनी पर्सा आएका छन्। उनले घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न प्रहरीसँग माग गरेका छन्।
घरभित्र चोरी गर्न प्रवेश गरेको आशंका गरिएको समूहले वृद्धाको हत्या गरेको घटनापछि धोबिनी क्षेत्रमा सुरक्षा चिन्ता बढेको छ। घटनामा कति जनाको संलग्नता थियो, कति रकम तथा गरगहना चोरी भयो र हत्यामा संलग्न व्यक्ति को हुन् भन्ने विषय भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।










