मकवानपुर भलिबल संघको नेतृत्वमा सिटौला पुनः निर्वाचित
मकवानपुर । मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा वसन्तकुमार सिटौला पुनः चयन भएका छन् । हेटौंडामा सम्पन्न साधारणसभा तथा अधिवेशनले सिटौलाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट राजु घले उपाध्यक्ष, सन्तोष श्रेष्ठ सचिव र पुष्प मैनाली कोषाध्यक्षमा चयन भएका छन् । सदस्यमा नरेन्द्र मुक्तान, सुशान्त आले, राजेश अधिकारी, काजीराम मुक्तान र लक्ष्मी बर्तौला रहेका छन् ।
यसैगरी, हेटौंडा उपमहानगर भलिबल संघको अध्यक्षमा कमल बिडारी चयन भएका छन् । उपाध्यक्षमा सुवास सुवेदी र पूर्ण लामा, सचिवमा सफलचन्द्र कंडेल तथा कोषाध्यक्षमा सुमन नेपाल चयन भएका छन् । सदस्यमा इन्द्रबहादुर माझी, सुजिता थापा, निश्चल राना मगर र आयुषा सिंह रहेका छन् ।
भलिबल संघको अधिवेशनसँगै केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको समेत साधारणसभा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा प्रमुख अतिथि थिइन् ।
कार्यक्रममा मेयर लामाले भलिबल संघ र प्रतिष्ठानसँगको सहकार्यलाई निरन्तरता दिने बताइन् । उनले हेटौंडा उपमहानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गरिन् ।
कार्यक्रममा हेटौंडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी ‘नवराज’, नेपाल भलिबल संघका उपाध्यक्ष गौतम लासिबा, सदस्य निरप्रसाद इटेनी, बागमती प्रदेश भलिबल संघका अध्यक्ष माधव केसी, खेलकुद विकास समिति मकवानपुरका पूर्वअध्यक्ष बालकृष्ण चौलागाईं, भेष खड्की, सानु लामा तथा खेलकुद विकास समिति अध्यक्ष राजकुमार मोक्तानलगायतको उपस्थिति थियो ।
दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका सिटौलाले आगामी कार्यकालमा संस्थागत सुदृढीकरणसँगै मकवानपुरमा भलिबल खेलको विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।










