निजगढ विमानस्थल पीपीपी मोडलमा अघि बढाउन सांसद अरविन्द साहको माग

कोल्हवी न्यूज
२०८३ आश्विन ५, सोमबार १६:१५ गते

बारा निर्वाचन क्षेत्र नम्बर–३ का सांसद अरविन्द साहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै साहले निजगढ विमानस्थल निर्माणका लागि विगत लामो समयदेखि अध्ययन, जग्गा मुआब्जा, तारबार, नदी नियन्त्रण, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), मास्टर प्लान तथा डीपीआरलगायतका काममा राज्यको ठूलो रकम खर्च भइसकेको बताए। तर आयोजना अघि बढ्न नसक्दा भएको लगानी निष्क्रिय हुनुका साथै लागत बढेको र राजस्व तथा रोजगारीका अवसरसमेत गुमिरहेको उनको भनाइ थियो।

निजगढ विमानस्थलमा निजी क्षेत्रको लगानी भित्र्याउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी–व्यवसायीसँग छलफल गरिसकेका छन्।

सांसद साहले प्रारम्भिक चरणमा ३ हजार हेक्टर क्षेत्रफलमा निर्माण सुरु गरी आवश्यकताअनुसार क्रमशः विस्तार गर्न सुझाव दिएका छन्। उनले पारदर्शी BOOT वा पीपीपी मोडलमार्फत आयोजना अघि बढाउनुपर्ने धारणा राखेका हुन्।

विमानस्थल क्षेत्रभित्र रहेका टाँगियाबस्ती, काठगाउँ र मठियानीलगायतका बस्तीका नागरिकको तथ्यांक संकलन गरी वैकल्पिक जग्गा तथा उचित क्षतिपूर्तिसहित सम्मानजनक पुनर्स्थापना गर्नुपर्नेमा पनि साहले जोड दिएका छन्।

उनले विकास निर्माणसँगै राज्यका नीति–नियम र प्रभावित नागरिकको अधिकारलाई समेत सम्बोधन गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउनुपर्ने बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*