पथलैयामा अचेत भेटिएका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु
बारा, ६ असोज । जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा अचेत अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा पथलैया निवासी जनकबहादुर थापाका करिब ५४ वर्षीय छोरा राम थापा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार साँझ करिब ६ बजे घरबाट करिब एक सय मिटर पूर्वतर्फ १ नम्बर पुल नजिक थापा अचेत अवस्थामा भेटिएका थिए। आफन्तले उनलाई अचेत अवस्थामा देखेपछि साँझ ६ः४० बजे प्रहरी चौकी पथलैयामा खबर गरेका थिए।
सूचना पाएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको नेतृत्वमा खटिएको टोलीले थापाको उद्धार गरी उपचारका लागि सिमरा नगर अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याएको केही समयमै साँझ ६ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार थापाको शरीरमा बाहिरी चोटपटक देखिएको छैन। उनको शव हाल सिमरा नगर अस्पतालमै राखिएको छ।
घटनाको अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।










