पर्सामा ३० किलो गाँजासहित तीन जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो हवाई फायर

कोल्हवी न्यूज
२०८३ आश्विन ५, सोमबार १६:१० गते

पर्सा, ५ असोज । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले ३० किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले गएराति टोली परिचालन गरेको थियो।

प्रहरीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेको जनाएको छ। त्यसक्रममा स्थानीय ५० वर्षीय महेश सहनी र ३४ वर्षीय नन्दलाल सहनीलाई नियन्त्रणमा लिइएको हो।

थप अनुसन्धानका क्रममा सोही स्थानका ७५ वर्षीय भुटी भनिने भुरी चौधरी पनि उक्त कारोबारमा संलग्न रहेको खुलेपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*