बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा
बारा, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेसँगै सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा हाल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा विभिन्न ९ वटा वाणिज्य बैंकका खातामा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी सनराइज बैंकका डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर संकलन भएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रका लागि कोषमा जम्मा भएको रकममध्ये यसअघि नै १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।










