बारामा भदौमा १४४ अपराधका मुद्दा दर्ता, ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु
बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएको जनाएको छ। प्रहरीले अपराध अनुसन्धानसँगै शान्ति–सुरक्षा, लागूऔषध नियन्त्रण, सवारी व्यवस्थापन, विपद् उद्धार तथा समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको हो।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको भदौ महिनाको प्रगति विवरणअनुसार सबैभन्दा बढी सामाजिक अपराधका ३२ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै आत्महत्यासम्बन्धी २८, महिला तथा बालबालिकासम्बन्धी १९, सवारी ज्यानसम्बन्धी ११, चोरीसम्बन्धी ५ र ज्यानसम्बन्धी २ वटा मुद्दा दर्ता भएका छन्। अन्य प्रकृतिका ५३ वटा मुद्दा रहेको प्रहरीले जनाएको छ।
गम्भीर आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ११ र ठगीका १० गरी २१ वटा मुद्दा दर्ता भएका छन्।
लागूऔषधतर्फ ६ मुद्दा
भदौमा लागूऔषधसम्बन्धी ६ वटा मुद्दा दर्ता गरी ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट १६८ किलो १६ ग्राम गाँजा, १ ग्राम १६ मिलिग्राम ब्राउन सुगर र १८ हजार ३०० थान ट्रामाडोल बरामद गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
विभिन्न मुद्दामा फरार रहेका ४४ जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट ११ वर्ष ४ महिना २५ दिन कैद तथा १ लाख ८६ हजार १५० रुपैयाँ जरिवाना असुल गरी अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ।
८४ सवारी दुर्घटना, १२ जनाको मृत्यु
भदौ महिनामा बारामा ८४ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु तथा १२२ जना घाइते भएका छन् भने प्रहरीले ११५ जनाको उद्धार गरेको जनाएको छ।
प्रहरीका अनुसार ८१ वटा दुर्घटना चालकको कारण, एक–एक वटा सवारीसाधन, यात्रु र मौसमका कारण भएका थिए। दुर्घटनामा संलग्न ९१९ वटा सवारीसाधनमाथि कारबाही गरी ९ लाख ८५ हजार ५०० रुपैयाँ जरिवाना संकलन गरिएको छ।
घरेलु हिंसाका १७४ उजुरी
घरेलु हिंसातर्फ भदौमा १७४ वटा उजुरी परेकोमा १५२ वटा मिलापत्र भएका छन्। ६ वटा उजुरी अदालत पठाइएको प्रहरीले जनाएको छ।
यसैगरी महिला, पुरुष, बालक, बालिका तथा ज्येष्ठ नागरिक गरी २८ जना हराएकोमा १६ जना फेला परेको विवरणमा उल्लेख छ।
३९ विपद् घटनामा ८ जनाको मृत्यु
भदौमा बारामा ३९ वटा विपद्सम्बन्धी घटना भएका छन्। ती घटनामा ८ जनाको मृत्यु र १२० जना घाइते भएका छन्। विपद्का कारण करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ।
आगलागी, बाढी तथा पहिरो, चट्याङ, करेन्ट लाग्ने, जनावरको आक्रमण तथा पानीमा डुबीलगायत घटनामा उद्धार तथा जनचेतनामूलक काम गरिएको प्रहरीले जनाएको छ।
अपराध न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि प्रहरीले भदौमा १३१ वटा समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरेको थियो। ती कार्यक्रममा ४ हजार १०८ जना लाभान्वित भएको प्रहरीको भनाइ छ।
अवैध मदिरा र राजस्व चुहावट नियन्त्रण
प्रहरीले दुई थान भरुवा बन्दुक र २ किलो १७० ग्राम साइकलको ब्यारिङ बल बरामद गरेको जनाएको छ। राजस्व चुहावट तथा भन्सार छलीका ९ लाख ६८ हजार ७० रुपैयाँ बराबरका अवैध सामान समेत बरामद गरिएको छ।
त्यस्तै, जिल्लामा १९ हजार ८९० लिटर अवैध मदिरा बरामद गरी १८ वटा अवैध मदिरा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ ७ वटा ट्र्याक्टर बरामद गरी ७० हजार रुपैयाँ जरिवाना गरिएको छ।
प्रहरीका अनुसार ४८.५४ क्युफिट काठ बरामद गरी १ लाख १३ हजार ४०० रुपैयाँ राजस्व तथा जरिवाना असुल गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अपराध न्यूनीकरणका लागि दिवा तथा रात्रि गस्ती, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त परिचालन, सीसीटीभी निगरानी, सूचना संकलन तथा ट्राफिक सचेतनालगायतका गतिविधिलाई निरन्तरता दिइएको छ। हाल बारा जिल्लामा १ हजार ७२१ जना प्रहरी जनशक्ति कार्यरत रहेको प्रहरीले जनाएको छ।









