जनकपुरधाममा घरमा आगलागी हुँदा वृद्धको मृत्यु
जनकपुर, ४ असोज । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकमा घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आगलागीमा परी ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो। महोत्तरी नगरपालिका–२ निवासी सहनी अवकाशप्राप्त शिक्षक रहेको प्रहरीले जनाएको छ।
राति परिवारका सबै सदस्य सुतिरहेको समयमा घरमा अचानक आगलागी भएको थियो। आगलागीपछि परिवारका अन्य सदस्य भने सकुशल बाहिर निस्कन सफल भएका थिए।
घरबाट बाहिरिने क्रममा सहनी लडेर आगोमा परेको हुन सक्ने स्थानीयले बताएका छन्। आगलागीबाट गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने देखिएको छ। आगलागीको वास्तविक कारण भने खुलिनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










