बाराका डीएसपी जैसवार बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

कोल्हवी न्यूज
२०८३ आश्विन ४, आईतवार १५:२७ गते

बारा, ४ असोज । बाराको सिम्रौनगढ नगरपालिका–११ भगवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवार बागमती प्रदेशको ‘उत्कृष्ट प्रदेश प्रहरी’ घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुखका रूपमा कार्यरत जैसवारलाई २०८३ साल भदौ महिनाको उत्कृष्ट प्रदेश प्रहरीका रूपमा छनोट गरिएको हो। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले असोज २ गते उनलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार संगठनको नीति तथा निर्देशनअनुसार जिम्मेवारी व्यावसायिक रूपमा निर्वाह गर्नुका साथै अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ र फैसला कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्‍याएको आधारमा जैसवारलाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो।

रामेछापमा कार्यरत रहँदा उनको नेतृत्वमा ज्यान मार्ने उद्योग, शरीर बन्धक बनाई नगद तथा सुनचाँदी लुटपाटलगायतका घटनामा संलग्न अभियुक्त पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको थियो। विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ, चोरी भएका सुनका गहना बरामद तथा फैसला कार्यान्वयनमा समेत प्रगति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, आत्महत्या रोकथाम, जबर्जस्ती करणी, घरेलु तथा लैंगिक हिंसा, चोरी, मानव बेचबिखन, लागुऔषध दुरुपयोग, बैंकिङ कसुर र साइबर अपराध न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत जैसवारले भूमिका खेलेका थिए।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मीले जैसवारलाई प्रशंसापत्रसहित सम्मान गरेका हुन्।

प्रदेशकै उत्कृष्ट प्रहरीको सम्मान पाएपछि सिम्रौनगढका जैसवारको गृहजिल्ला बारामा समेत चर्चा भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*