वीरगन्ज भन्सारले भदौमा उठायो २३ अर्ब ४६ करोड राजस्व
वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन गरेको छ।
भन्सार कार्यालयका अनुसार भदौ महिनामा सङ्कलन भएको राजस्व कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो। भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको छ।
वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले भदौ महिनामा लक्ष्यको करिब ९९.७५ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिनुभयो।
मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ।
वीरगन्ज भन्सार मुलुकको प्रमुख व्यापारिक नाकामध्ये एक भएकाले यहाँबाट हुने आयातले सरकारको राजस्व सङ्कलनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।










