माछा कारोबार विवादमा रास्वपा वीरगञ्ज–२५ का वडा सभापति पक्राउ
वीरगञ्ज । माछा कारोबारलाई लिएर उत्पन्न विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगञ्ज महानगरपालिका–२५ का वडा सभापति प्रकाश साह पक्राउ परेका छन्।
मनिष गुप्तासहितले दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।
जाहेरीमा साहले आफू स्थानीय बासिन्दा भएको प्रभाव देखाउँदै वीरगञ्ज भन्सारबाट आफूले मात्रै माछाको कारोबार गर्ने र अन्य व्यक्तिलाई कारोबार गर्न नदिने भन्दै गालीगलौज तथा अभद्र व्यवहार गरेको आरोप लगाइएको छ।
माछा कारोबारकै विषयमा विवाद भएपछि साहविरुद्ध अभद्र व्यवहारसम्बन्धी जाहेरी परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको परिस्थिति र सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान गरिरहेको छ।
साहमाथि लगाइएको आरोपको वास्तविकता भने अनुसन्धान तथा कानुनी प्रक्रियापछि स्पष्ट हुने प्रहरीले जनाएको छ।










