बारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

कोल्हवी न्यूज
२०८३ भाद्र ३१, बुधबार १२:२६ गते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ मा एलपी ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मंगलबार राति करिब ८ः३० बजे वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत सागर आयल पेट्रोल पम्प नजिक दुर्घटना भएको हो।

प्रहरीका अनुसार ऐरोटेक ग्यास कम्पनीबाट पूर्वतर्फको सर्भिस लेन हुँदै एक्सप्रेस–वेमा प्रवेश गर्दै गरेको ना.३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्ज लगिएकोमा चिकित्सकले राति ९ः१० बजे मृत घोषणा गरेका थिए।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–१५ नगवा निवासी करिब ३५ वर्षीय रविन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ निवासी करिब ३० वर्षीय दिलीप चौधरी रहेका छन्। मोटरसाइकल चालक र पछाडि सवारमध्ये को को थिए भन्ने विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय जितपुर र सिमराबाट प्रहरी तथा ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक चितवनको भरतपुर महानगरपालिका–७ निवासी करिब ५८ वर्षीय सुनिलराज पाठकलाई नियन्त्रणमा लिएको छ। ट्रक र चालकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल भने इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*