मकवानपुरमा गुडिरहेका चार बसमाथि ढुंगा प्रहार, एक यात्रु घाइते

कोल्हवी न्यूज
२०८३ भाद्र ३१, बुधबार ११:४८ गते

मकवानपुर । मकवानपुरमा रातको समयमा गुडिरहेका यात्रुबाहक बसमाथि ढुंगा प्रहार भएको छ। हेटौँडा–३ बसामाडी नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधबार बिहान अज्ञात समूहले लगातार चारवटा बसमाथि ढुंगा प्रहार गरेको हो।

ढुंगा प्रहारबाट एक महिला यात्रु घाइते भएकी छन् भने एउटा बसको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब २ः१५ बजे भैरहवाबाट काठमाडौं जाँदै गरेको बा प्र ०३–००१ ख १६४२ नम्बरको बसमाथि बसामाडी क्षेत्रमा ढुंगा प्रहार भएको थियो। बसको सिसा फुटेर ढुंगा लाग्दा रुपन्देहीको ओमसतिया–६ की २१ वर्षीया लक्ष्मी कुमारी चौधरी घाइते भएकी हुन्।

टाउकोमा चोट लागेकी चौधरीको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम छ र उनी बोल्न सक्ने अवस्थामा छिन्।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनामध्ये पाँच जनालाई नियन्त्रणमा लिएको छ। एक जना भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

एकै क्षेत्रमा चारवटा यात्रुबाहक बसलाई लक्षित गरी ढुंगा प्रहार भएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ। ढुंगा प्रहारको उद्देश्य भने अहिलेसम्म खुलेको छैन।

चाडपर्व नजिकिँदै गर्दा राजमार्गमा यात्रुबाहक सवारीमाथि भएको घटनाले रातको समयमा यात्रा गर्ने यात्रुको सुरक्षामाथि प्रश्न उठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*