दशगज्जाबाट अपहरित १५ महिने बालकको उद्धार, एक महिला पक्राउ

कोल्हवी न्यूज
२०८३ भाद्र ३०, मंगलवार १४:३० गते

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ।

भदौ १८ गते बिदेह नगरपालिका–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतो अपहरणमा परेका थिए। उनको गएराति बिदेह नगरपालिका–१ स्थित दशगज्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बालकलाई छाडेर भाग्न खोजेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए।

प्रहरीका अनुसार अपहरणको सूचना पाएपछि तालिम प्राप्त कुकुरसहित टोलीले खोजी तथा अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा बालक राखिएको स्थानमा पुगेपछि महिलाले बालकलाई छाडेर भाग्न खोज्दा उनलाई पक्राउ गरिएको हो।

उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइएको छ। पक्राउ परेकी महिलाविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*