बारामा ३ वर्षीया बालिका हत्या प्रकरण : पक्राउ परेका १० जना धरौटी र साधारण तारेखमा रिहा

कोल्हवी न्यूज
२०८३ भाद्र २६, शुक्रबार १६:४५ गते

बारा, २६ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका १० जना अदालतको आदेशपछि रिहा भएका छन्।

बारा जिल्ला अदालतका जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुख्य प्रतिवादी भनिएका प्रोग्रेश उर्फ पुरग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।

साधारण तारेखमा रिहा हुनेमा पुरग्रेशका बुवा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता, सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन रहेका छन्। अदालतले उनीहरूविरुद्ध तत्काल थुनामा राख्नुपर्ने पर्याप्त र ठोस प्रमाण नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको जनाइएको छ।

बालिकाका बुवा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई अपहरण, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतमा पेस गरेको थियो। अदालतको आदेशपछि उनीहरू बिहीबार साँझ हिरासतमुक्त भएका हुन्।

यसअघि घटनामा संलग्न भनिएका दुई नाबालकलाई भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म वीरगञ्जस्थित बाल सुधार गृहमा राख्ने आदेश अदालतले दिएको थियो। पक्राउ परेका दुई नाबालकमध्ये एकले बालिकालाई चकलेट दिएर बलात्कारपछि हत्या गरेको स्वीकार गरेको र उनको बयान घटनास्थल तथा शवको अवस्थासँग मिलेको प्रहरीको दाबी छ।

गत साउन ३१ गतेदेखि बेपत्ता भएकी बालिकाको शव भदौ २ गते घरनजिकैको खाली घरमा फेला परेको थियो। घटनापछि देशभर विरोध प्रदर्शन भएको थियो। गृह मन्त्रालयमा गृहमन्त्रीसहित सरकारका पाँच मन्त्री, प्रहरी महानिरीक्षक र पीडित परिवारबीच तीनबुँदे सहमति भएपछि भदौ ७ गते बालिकाको अन्त्येष्टि गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*