सरकारमाथि सत्तारूढ रास्वपाकै सांसदको असन्तुष्टि, प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म आलोचनाको घेरामा

कोल्हवी न्यूज
२०८३ भाद्र २६, शुक्रबार ०६:५४ गते

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले असन्तुष्टि जनाउन थालेका छन्। सरकारका कामकारबाहीको आलोचनामा प्रतिपक्षीभन्दा सत्तापक्षकै सांसद अगाडि देखिन थालेका हुन्।

प्रतिनिधिसभाको पछिल्ला बैठकमा रास्वपा सांसदहरूले सरकारको पुनर्निर्माणको सुस्त गति, ग्यास अभाव, प्रधानमन्त्रीको सचिवालयको हस्तक्षेप तथा मन्त्रीहरूको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

उद्योगमन्त्रीको राजीनामामाथि प्रश्न

उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिनुअघि नै रास्वपाका सांसद बदनकुमार भण्डारीले उनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। बुधबार बसेको उद्योग समितिको बैठकमा उनले ग्यासको सहज आपूर्ति गर्न नसके मन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए।

यादवले राजीनामा दिएको नभई बर्खास्त गरिएको रास्वपा सांसद अमरेशकुमार सिंहको दाबी छ। रास्वपा नेताहरूका अनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले मन्त्री यादवलाई व्यवस्थापन गर्न नसकिएको भन्दै पदबाट राजीनामा दिन सुझाएका थिए।

पुनर्निर्माणको गतिमाथि प्रश्न

रास्वपाका महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले सिंहदरबार र संसद्को पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा उनले निजी क्षेत्रले गत वर्ष भदौ २४ गतेको विध्वंसपछि आफ्ना संरचना पुनर्निर्माण गरिसक्दा राज्यका प्रमुख संरचना अझै उस्तै रहेको बताए।

उनले भने, “राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?”

आचार्यले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यावहारिक कमजोरी पहिचान गरी कामको गति बढाउन सरकारलाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयमाथि पनि प्रश्न

रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री शाहका सल्लाहकार तथा सचिवालयको कार्यशैलीप्रति समेत गम्भीर आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले सरकारको केन्द्र सिंहदरबार हुनुपर्नेमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको ज्वागलस्थित निवासबाट सरकार सञ्चालन भइरहेको आरोप लगाए।

उनले सचिवालयका केही व्यक्तिको कार्यशैलीप्रति आफू असन्तुष्ट रहेको बताउँदै सरकारमा हुकुमी प्रवृत्ति हाबी भएको दाबी गरे।

“सरकारको केन्द्र मैले सिंहदरबार बुझेको थिएँ। तर, सरकारको केन्द्र त ज्वागल बनेको छ। हुकुमी शासन चलिरहेको छ,” सिंहले भने।

गृहमन्त्रीको व्यवहारप्रति पनि असन्तुष्टि

गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति पनि रास्वपाभित्रै असन्तुष्टि देखिएको छ। आलोचना सुन्ने धैर्य, फरक मतको सम्मान र आफू पनि गलत हुन सक्ने स्वीकार गर्ने संस्कार कमजोर हुँदै गएको भन्दै सांसदहरूले गृहमन्त्रीको आलोचना गरेका हुन्।

भदौ २३ गते जेन–जी स्मृति दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा विवादित धर्मगुरु विजय भण्डारी र श्रीनिवास आचार्यलाई मञ्चमा राखिएको विषयमा रास्वपा सचेतक क्रान्तिशिखा धितालले प्रश्न उठाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत “त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले जेन जी परिवारको पीडा कसरी सम्बोधन ग¥यो ?” भन्दै प्रश्न गरेकी छन्।

गत वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र निरंकुश सत्ताविरुद्ध भएको आन्दोलनको स्मरण गर्दै उनले अहिले सरकारमाथि प्रश्न गर्नेहरूलाई धम्की वा चेतावनीको भाषा प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नसमेत उठाएकी छन्।

धितालको अभिव्यक्तिप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट बनेको र उनलाई ह्वाट्सएपमार्फत सन्देश पठाएको रास्वपाका एक सांसदले बताएका छन्।

यसरी सरकार गठन भएको केही समयमै सत्तारूढ दलकै सांसदहरूबाट प्रधानमन्त्रीको सचिवालय, मन्त्रीहरूको कार्यशैली र सरकारको समग्र कामकारबाहीमाथि सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि रास्वपाभित्रको असन्तुष्टि सतहमै देखिन थालेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*