बारामा सुमोको ठक्करबाट अज्ञात पैदलयात्रीको मृत्यु
बारा । बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट एक अज्ञात पुरुष पैदलयात्रीको मृत्यु भएको छ।
बिहीबार राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिक वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका करिब २२/२३ वर्षीय पुरुषलाई ठक्कर दिएको हो।
सुमोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा राति १०ः३५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
प्रहरीका अनुसार मृतकको शव हाल एलएस न्युरो अस्पतालमै राखिएको छ। दुर्घटनामा संलग्न सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन। प्रहरीका अनुसार उनको उचाइ करिब ५ फिट ६ इन्च, शरीर पातलो, दायाँ हातमा बाला, कालो भेस्ट र निलो पाइन्ट लगाएको तथा उमेर करिब २२/२३ वर्ष रहेको छ।
मृतकलाई चिन्नुहुने वा उनका आफन्तजनले जिल्ला प्रहरी कार्यालय बाराको ९८५५०४८१०१, ९८५५०४५१०१ वा ९८५५०४५७६६ नम्बरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।










