विपद्को घडीमा सबै देशवासीको साथ आवश्यक छ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले महाप्रलयको सामना गरिरहेका बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।
सिरहाको मिर्चैया नगरपालिका–५ स्थित मोहन नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान–प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो विपत्ति निम्त्याएकाले सबै मिलेर सहयोग गर्नुपर्ने बताएका हुन्।
उनले बाढीका कारण देश राष्ट्रिय शोकको घडीमा रहेको उल्लेख गर्दै विपद्का बेला मधेसले पहाड र पहाडले मधेसलाई सहयोग गर्ने नेपाली संस्कार रहेको बताए। अहिले पनि तराई–मधेसबाट भइरहेको सहयोग अतुलनीय रहेको भन्दै उनले धन्यवाद व्यक्त गरे।
प्रचण्डले हिमाली क्षेत्रका जनता र पर्यावरणको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले समेत एकमत भएर आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए। हिमाली क्षेत्रको सुरक्षा र त्यहाँको माटो तथा वातावरण संरक्षणका विषयमा आफूले विगतदेखि नै अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएको उनको भनाइ थियो।
सिरहाका जनतासँग आफ्नो विशेष सम्बन्ध रहेको उल्लेख गर्दै प्रचण्डले आफूलाई सिरहाली जनताले निर्वाचित गराएर दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर दिएको स्मरण गरे। उनले सिरहाका जनता र शिक्षकप्रति आफूलाई विशेष स्नेह रहेको बताउँदै आवश्यक सहयोगका लागि आफू अझै तयार रहेको बताए।
विद्यालयको भवन शिलान्याससमेत आफूले गरेको स्मरण गर्दै उनले विद्यालयसहित यस क्षेत्रका शैक्षिक संस्थालाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए।
सङ्घीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत निर्माण गरिएका ९/९ कोठे चारवटा भवनको प्रचण्डले उद्घाटन गरेका हुन्। कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादव, प्रतिनिधिसभा सदस्य तपेश्वर यादव, सिरहा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो लगायतको सहभागिता थियो।
शुक्रबारसम्म सञ्चालन हुने विज्ञान तथा प्रविधि प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विभिन्न सामग्रीको समेत प्रचण्डले अवलोकन गरेका थिए।










