मूल्यवृद्धि फिर्ता नलिए ढुवानीका साधन ग्यारेजमा थन्काउने चेतावनी

कोल्हवी न्यूज
२०७८ कार्तिक ३०, मंगलवार १७:३९ गते

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न ढुवानी यातायात व्यवसायीहरुले माग गरेका छन्। नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश र पश्‍चिमाञ्‍चल यातायात व्यवसायी समितिले संयुक्त विज्ञप्ती जारी गर्दै मूल्य वृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी दिएका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डे र पश्‍चिमाञ्‍चल यातायात व्यवसायी समितिका महासचिव जितबहादुर भाटद्वारा संयुक्तरुपमा जारी विज्ञप्तीमा मूल्यवृद्धिले नेपाल ट्रक यातायात व्यवसायी मर्कामा परेको बताउँदै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो।

विसं २०७८ वैशाख ५ गते डिजलको मूल्य १०४ रुपैयाँ हुँदा तय भएको ढुवानीका सवारीसाधनको भाडा हाल ११९ रुपैयाँ हुँदा पनि साविकको भाडामा ढुवानी गर्नुपर्दा व्यवसायी समस्यामा परेको विज्ञप्तीमा उल्लेख छ।

नेपाल सरकार यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा प्रति लिटर ५ रुपैयाँ हेरफेर हुँदा सोही अनुरुप भाडा समायोजन गर्नुपर्ने व्यवस्था हुँदा पनि त्यो नहुनु दुःखद पक्ष रहेको उनीहरुको ठहर छ।

११९ रुपैयाँ डिजलको मूल्य हुँदा पनि साविकको भाडामा ढुवानी गर्नुपर्दा व्यवसायी धरासाही हुने भएकाले मूल्यवृद्धि फिर्ता नभए ढुवानीका सवारीका साधन ग्यारेजमा थन्काएर राख्‍ने बाध्यता सिर्जना हुने चेतावनी दिइएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भाडा समायोजन नहुँदा उत्पन्‍न हुने परिस्थीतीको यातायात व्यवसायीका संघसंस्थाहरु जवाफदेही नहुने स्पष्ट पारिएको छ। पेट्रोलियम पर्दाथमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता नलिए स्वयं सरकार र नेपाल आयल निगम जिम्मेवार हुनुपर्ने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*