पार्टी एकताका लागि अझै नरम भएर अघि बढ्न तयार छु : गगन थापा

कोल्हवी न्यूज
२०८३ भाद्र २५, बिहीबार १५:५९ गते

काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन आवश्यक परे आफू अझै नरम भएर अघि बढ्न तयार रहेको बताएका छन्।

नेपाली कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ पुण्यतिथिमा बिहीबार आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै थापाले पार्टीभित्रका कमजोरी सुधार गर्दै संगठनलाई थप बलियो बनाउने जिम्मेवारी आफूले गम्भीरतापूर्वक लिएको बताए।

उनले पार्टीलाई एकढिक्का बनाउन आफू लचक हुन तयार रहेको उल्लेख गर्दै संगठन सुधारका क्रममा आवश्यक ठाउँमा कठोर निर्णयसमेत लिनुपर्ने बताए।

‘पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु,’ थापाले भने, ‘नरम पनि छु र पार्टीभित्र भएका कमी–कमजोरीलाई हटाएर निर्मम भएर पनि अगाडि बढ्नुपर्नेछ।’

पार्टीको हितमा आवश्यक निर्णय लिन आफू पछि नहट्ने बताउँदै उनले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नु अहिलेको प्रमुख जिम्मेवारी भएको बताए। सुधारको प्रक्रिया सहज नभए पनि संगठनको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ थियो।

थापाले देशमा जटिल परिस्थिति उत्पन्न हुँदा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्दै समस्या समाधानमा योगदान दिँदै आएको बताए। आगामी दिनमा पनि नागरिकमाझ पार्टीप्रतिको विश्वास र भरोसा कायम गर्ने गरी काम गर्ने प्रतिबद्धता उनले जनाए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*