“तीजको दरभन्दा विपद् पीडितको पीडा ठूलो, तामागढी समूह चितवनले गर्‍यो ५० हजार ५० रुपैयाँ सहयोग

कोल्हवी न्यूज
२०८३ भाद्र १८, बिहीबार १२:४३ गते

तस्बिर,ए आई

चितवन । बारा जिल्लाबाट चितवनमा बसोबास गर्दै आएका नेपालीहरूको सक्रियतामा सञ्चालित तामागढी बहुउद्देश्य समूह, चितवनले प्रधानमन्त्री राहत उद्धार कोषमा ५० हजार ५० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

 

 

विपद्को समयमा पीडित नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले समूहले उक्त रकम सहयोग गरेको हो। समूहका कार्यसमिति सदस्य श्यामसुन्दर सापकोटाका अनुसार तीज पर्वमा दर खाने कार्यक्रमका लागि छुट्याइएको रकमलाई सहयोगमा परिणत गरिएको हो।

 

 

सापकोटाले चाडपर्व मनाउने क्रममा हुने खर्चलाई केही कटौती गर्दै विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार समूहमा आबद्ध सदस्यहरूबीच छलफल गरी तीजमा दर खाने प्रयोजनका लागि छुट्याइएको रकम प्रधानमन्त्री राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो।

 

 

 

“चाडपर्व हरेक वर्ष आउँछ, तर विपद्मा परेका नागरिकलाई अहिले नै हाम्रो साथ र सहयोग आवश्यक छ,” समूहको भावनालाई उद्धृत गर्दै सापकोटाले भने, “त्यसैले दर खाने रकमलाई विपद् पीडितको सहयोगमा लगाउने निर्णय गरेका हौँ।”

 

 

 

बारा जिल्लाबाट विभिन्न कारणले चितवनमा बसोबास गर्दै आएका व्यक्तिहरूलाई एउटै सामाजिक संस्थामार्फत जोड्दै आएको समूहले सामाजिक तथा मानवीय कार्यलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

 

 

प्राकृतिक विपद्का कारण नागरिकको जनधनमा क्षति पुगेका बेला सरकार, विभिन्न संघसंस्था, निजी क्षेत्र तथा नागरिकस्तरबाट राहत र उद्धारका लागि सहयोग जुटिरहेको छ। यसै अभियानमा तामागढी बहुउद्देश्य समूहले पनि आफ्नो तर्फबाट योगदान गरेको हो।

 

 

 

समूहले आफ्नो सानो प्रयासले विपद्मा परेका परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गरेको छ। चाडपर्वको रमाइलोमा खर्च गरिने रकमलाई मानवीय सेवामा प्रयोग गर्ने समूहको निर्णयलाई सामाजिक सद्भाव र जिम्मेवारीको सकारात्मक उदाहरणका रूपमा लिन सकिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*