भोटेकोसी बाढीपीडितका लागि हेटौंडाका टोल विकास संस्थाबाट १३ लाख बढी सहयोग
हेटौंडा । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि हेटौंडाका विभिन्न टोल विकास संस्थाहरूले आर्थिक सहयोग गरेका छन्।
टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आह्वानमा सञ्चालन गरिएको राहत सहयोग अभियानअन्तर्गत विभिन्न टोल विकास संस्थाहरूबाट रु. १३ लाख १९ हजार ९ सय १२ संकलन भएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको समितिले जनाएको छ।
समितिका अनुसार २०८३ भदौ १७ गतेसम्म विभिन्न टोल विकास संस्थाहरूले स्वस्फूर्त रूपमा राहत अभियानमा सहभागिता जनाउँदै उक्त रकम सहयोग गरेका हुन्। बाढीका कारण रसुवा तथा भोटेकोसी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सहयोग अभियान सञ्चालन गरिएको समितिले जनाएको छ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले विपत्तिको समयमा मानवीय सहयोग नै सबैभन्दा महत्वपूर्ण हुने भन्दै अभियानमा सहभागी सम्पूर्ण टोल विकास संस्थाप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्।
अध्यक्ष अधिकारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रसँगै स्थानीय समुदायको समेत सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले अभियानमा जोडिन बाँकी रहेका सम्पूर्ण टोल विकास संस्थाहरूलाई समेत राहत सहयोगमा सहभागी हुन हार्दिक आग्रह गरेका छन्।
भोटेकोसी बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न राहत सामग्री तथा आर्थिक सहयोग जुटाउने क्रम जारी रहेको छ। विपद्को समयमा स्थानीयस्तरबाट संकलन हुने यस्ता सहयोगले पीडित परिवारलाई राहत पुग्नुका साथै पुनःस्थापनाको प्रयासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
समितिले बाढीपीडितको पीडामा मल्हम लगाउने उद्देश्यले सञ्चालन गरेको अभियानलाई निरन्तरता दिने जनाएको छ। स्थानीय समुदाय, संघसंस्था तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नसमेत समितिले आह्वान गरेको छ।










