बाढीपीडितलाई सहयोग गर्न कैलाश गाउँपालिकाको ५ लाख दिने निर्णय
हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन मकवानपुरको कैलाश गाउँपालिकाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
भाद्र १० गते चीनको तिब्बत क्षेत्र हुँदै आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि गाउँपालिकाले स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने निर्णय गरेको हो।
कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विपद्का बेला एक ठाउँका नागरिकले भोगेको पीडा सबैको साझा पीडा भएकाले मानवीय सहयोग आवश्यक रहेको बताए।
“रसुवामा बाढीका कारण नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको छ । यस्तो दुःखद् अवस्थामा कैलाश गाउँपालिका पीडित नागरिकको साथमा छ । हामी स्थानीय सरकारको नाताले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छौं,” उनले भने।
अध्यक्ष मुक्तानले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै तह र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताए। विपद्मा सहयोग गर्नु मानवीय दायित्व भएकाले गाउँपालिकाले आफ्नो तर्फबाट आर्थिक सहयोग गर्न लागेको उनको भनाइ छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्रीका अनुसार ५ लाख रुपैयाँ एकमुष्ट रूपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। कर्मचारीको तर्फबाट समेत रकम संकलन गरी सहयोग गरिने उनले बताइन्।
“विपद्को समयमा तत्काल राहत र सहयोगको आवश्यकता हुन्छ। रसुवाका बाढीपीडित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाबाट रकम उपलब्ध गराउन लागिएको हो,” खत्रीले भनिन्।
कैलाश गाउँपालिकाले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि सरकारी निकाय, सामाजिक संघसंस्था र आम नागरिकलाई समेत आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ। प्रभावित क्षेत्रमा कैलाश गाउँपालिकाका बासिन्दासमेत रहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।










