भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको ५ लाख सहयोग

कोल्हवी न्यूज
२०८३ भाद्र १४, आईतवार २०:२९ गते

हेटौंडा, १४ भदौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले उक्त रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो। सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुग्ने गरी उपलब्ध गराइने कांग्रेसले जनाएको छ।

बैठकले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको तथा चितवन, गोरखा, तनहुँ र नवलपरासीसमेत प्रभावित बनेको भन्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ।

कांग्रेसले प्रदेश सरकार मातहतका अस्पतालमा उपचाररत घाइतेको निःशुल्क उपचार गर्न, बिरामी तथा कुरुवाको व्यवस्थापन र खानाको व्यवस्था गर्न तथा दीर्घरोगीका लागि उपलब्ध हुँदै आएका निःशुल्क औषधिको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ।

बाढी प्रभावित क्षेत्रमा पार्टीको प्रदेशदेखि वडा र टोल तहसम्मको संरचना परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ। उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारी निकायसँग समन्वय गर्न प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ।

समितिले रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रदेश कार्यसमिति तथा सम्बन्धित जिल्ला सभापतिसँग समन्वय गरी आवश्यक काम अघि बढाउनेछ।

बाढीका कारण प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन वैकल्पिक सडक, झोलुङ्गे पुल तथा बेलीब्रिज निर्माण तत्काल अघि बढाउन कांग्रेसले प्रदेश सरकारसँग माग गरेको छ। घरबारविहीन परिवारका लागि अस्थायी तथा स्थायी पुनर्वासको व्यवस्था गर्नसमेत आग्रह गरिएको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश १ हजार घर निर्माण तथा आयआर्जनका लागि सीप, प्रविधि र बीउ पुँजी हस्तान्तरण कार्यक्रमलाई बाढीपीडितको पुनर्स्थापनामा केन्द्रित गर्न कांग्रेसले माग गरेको छ।

बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

यसैगरी, कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागका सदस्यसचिव रामेश्वर ढकालकी धर्मपत्नी शुभद्रा ढकालको गोसाइँकुण्ड क्षेत्रमा भएको असामयिक निधनप्रति पनि बैठकले दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*