बाराको कोल्हबीमा भोटेकोशी बाढीपीडितका लागि १५ सदस्यीय राहत संकलन समिति गठन
कोल्हवी:भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि राहत जुटाउने उद्देश्यले कोल्हबीमा १५ सदस्यीय राहत संकलन समिति गठन गरिएको छ। कोल्हबी नगर उद्योग वाणिज्य संघको पहलमा बिहीबार आयोजित सर्वपक्षीय बैठकले समिति गठन गर्दै नगर क्षेत्रमा राहत संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकमा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मी कुमारी चौधरी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, सहकारीकर्मी, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता थियो।
गठित समितिको संयोजकमा कोल्हबी नगर उद्योग वाणिज्य संघका तर्फबाट रामप्रसाद प्रसाई चयन भएका छन्। सदस्यहरूमा नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट भुवन चौधरी, नेकपाका तर्फबाट रामचन्द्र साफी, नेपाली कांग्रेसका तर्फबाट बिरेन्द्र चौधरी, नेकपा एमालेका तर्फबाट पुरनदेव चौधरी, रा.स्वपाको तर्फ बाट जितन चौधरी,ब्लोदानका तर्फबाट रामकुमार उप्रेती, सहकारी क्षेत्रबाट पारसनाथ चौधरी, थारु कल्याणकारी सभा (था.क.स.) बाट रामनाथ चौधरी, पत्रकार क्षेत्रबाट धिरेन्द्र पनुहर र महिला प्रतिनिधिका रूपमा प्रेमकुमारी चौधरीलगायत चयन भएका छन्।
बैठकले राजनीतिक दल, व्यवसायी, सामाजिक संघसंस्था, सहकारी, सञ्चारकर्मी तथा सर्वसाधारणसँग सहयोगका लागि अपिल गर्दै नगर क्षेत्रमा व्यापक राहत संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
प्राकृतिक विपद्का कारण पीडामा परेका नागरिकलाई सहयोग गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। संकलित आर्थिक सहयोग तथा राहत सामग्रीलाई पारदर्शी रूपमा व्यवस्थापन गरी वास्तविक बाढीपीडित परिवारसम्म पुर्याउने समितिको लक्ष्य रहेको जनाइएको छ।
विपद्को समयमा राजनीतिक तथा सामाजिक भिन्नताभन्दा माथि उठेर मानवीय सेवामा जुट्नुपर्ने धारणा व्यक्त गर्दै बैठकले सम्पूर्ण नगरवासीलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गरेको छ।बैठकको सहजीकरण कोल्हबी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रेमनारायण चौधरीले गरेका थिए।










