बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त

कोल्हवी न्यूज
२०८३ भाद्र ९, मंगलवार २१:०८ गते

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार प्रदेशसभामा भएको मतदानमा उपस्थित ५७ जना सांसदले नै उनको पक्षमा मत दिएका हुन्।

प्रदेशसभाको १०४ सदस्यीय संख्यामध्ये ५७ जना मात्रै मतदानमा सहभागी भएका थिए। मतदानमा सहभागी सबैको समर्थन पाएपछि थापामगरको सरकार तत्कालका लागि सुरक्षित भएको छ।

मुख्यमन्त्रीको पक्षमा नेकपाका २६, एमालेका २५ र राप्रपाका ६ सांसदले मतदान गरेका हुन्। सरकारलाई विश्वासको मतका लागि ५३ मत आवश्यक थियो।

यता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका सांसदहरू बैठकमा सहभागी भएनन्। कांग्रेसका ३६, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसदको अनुपस्थितिका कारण विपक्षमा कुनै मत परेन।

सरकारलाई समर्थन गरिरहेको राप्रपाका केही सांसदसमेत मतदानमा अनुपस्थित रहे। विपक्षी दलको बहिस्कारबीच भएको मतदानबाट मुख्यमन्त्रीले आवश्यक बहुमत भने जुटाएका छन्।

विश्वासको मत पाएसँगै थापामगर नेतृत्वको सरकारलाई प्रदेश सरकार सञ्चालनका लागि तत्काल सहजता भएको छ। अब सरकारका आगामी नीति, मन्त्रालय व्यवस्थापन र सत्ता साझेदार दलबीचको समन्वयलाई चासोका साथ हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*