२५ वर्षदेखि बन्द वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु
वीरगन्ज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुनः सञ्चालन गर्न सकिने वा नसकिने विषयमा सरकारले स्थलगत अध्ययन सुरु गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको तीन सदस्यीय कार्यदल मंगलबार वीरगन्ज पुगेर कारखानाको स्थलगत अनुगमन तथा निरीक्षण थालेको हो। मन्त्रालयका सि.डि.ई. एवं कार्यदल संयोजक श्रीकान्त यादवका अनुसार टोलीले दुई–तीन दिन कारखानाको अवस्था अध्ययन गर्नेछ।
कार्यदलले कारखानाको वित्तीय, आर्थिक, प्राविधिक र कानुनी अवस्था, भवन, संरचना, मेसिनरी तथा पार्टपुर्जाको अवस्थाबारे अध्ययन गर्नेछ। पुराना संरचना प्रयोग गरेर सञ्चालन गर्न सकिने वा नयाँ प्रविधि तथा संरचना आवश्यक पर्ने विषयमा समेत सुझाव दिनेछ।
भदौ १ गते गठन गरिएको कार्यदललाई १५ दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। वीरगन्ज चिनी कारखाना २०२१ साल माघ १८ गतेदेखि उत्पादनमा आएको थियो भने निरन्तर घाटा भएपछि २०५९ फागुन १५ गते मन्त्रिपरिषद्को निर्णयबाट बन्द गरिएको थियो।










