रसुवामा बाढीको वितण्डा, स्याफ्रुबेँसी र टिमुरे बजारमा ठूलो क्षति
रसुवामा आएको भीषण बाढीले स्याफ्रुबेँसी, टिमुरेलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बाढीपछि सरकारले रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। उद्धार तथा राहतका लागि सुरक्षा निकाय, स्थानीय तह र विपद् व्यवस्थापन निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
नदी किनार तथा पहिरोको जोखिम भएका स्थानमा नजान र अनावश्यक यात्रा नगर्न आग्रह गर्दै सरकारले आधिकारिक सूचनामा मात्र विश्वास गर्न अपिल गरेको छ। बाढीले स्याफ्रुबेँसी, टिमुरेलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएपछि सरकारले उद्धार तथा राहत अभियान तीव्र बनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भइसकेका छन् भने अन्य जिल्लाबाट समेत आवश्यक जनशक्ति पठाउने तयारी भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय पारिएको छ। मेडिकल टोली, नेपाल स्काउट र नेपाल रेडक्रससँग समन्वय गरी थप एम्बुलेन्स तथा स्वास्थ्यकर्मी पठाउने तयारी भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। मोबाइल एसएमएस तथा फोनमार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा जान सचेत गराउने कामसमेत भइरहेको छ।
सम्भावित उद्धारका लागि सबै हेलिकप्टर स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको छ भने निजी हेलिकप्टर कम्पनीलाई समेत तयारी अवस्थामा रहन भनिएको छ। सरकारले रसुवा र नुवाकोटका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन, नदी किनार तथा पहिरोको जोखिम भएका स्थानमा नजान र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।
यसैबीच
रसुवाबाट आएको बाढीका कारण धादिङको त्रिशूली नदी तथा खोला किनारका बस्ती जोखिममा परेपछि प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न थालेको छ।
बाढी गल्छी क्षेत्रसम्म पुगेपछि मलेखु र गल्छीका जोखिमयुक्त बस्ती खाली गराउन थालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बताएकी छन्। बाढीले गल्छीमा एउटा झोलुङ्गे पुलसमेत बगाएको छ।
मानवीय क्षति रोक्न सुरक्षा निकायका टोली फिल्डमा खटिएका छन्। जोखिम बढेपछि पृथ्वी राजमार्गमा गुड्ने सवारीसाधनलाई समेत सुरक्षित स्थानमा रोकिएको प्रशासनले जनाएको छ।
स्थानीय तहसँग समन्वय गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ। प्रशासनले नागरिकको ज्यान जोगाउन उच्च सतर्कता अपनाएको जनाएको छ।










